तुलसीपुरमा सडक निर्माणको कार्य ठप्प, मजदुर परे मर्कामा

Ad
  • Kalopati

तुलसीपुर । सडकमा निर्माणका लागि गाडिएका छड, त्यत्तिकै अलपत्र छन् । निर्माणका लागि ल्याइएका तारजाली पनि सडकमै छताछुल्ल पारी राखिएको छ । सडक धुलैधुलो हुँदा वरपर बस्ने नागरिकलाई समस्या छ । तर सडक निर्माणको काम विगत छ महिनादेखि ठप्प छ । दाङको दङ्गीशरण गाउँपालिकाको पोटली–मिरौली–चखौरा–रावतगाउँ हुँदै एकली जोड्ने सडक निर्माण कार्य अहिले ठप्प छ ।

चार किलोमिटर सडक कालोपत्र गर्नका लागि रु आठ बजेट विनियोजन भएको छ । तीमध्ये अहिलेसम्म करिब रु एक करोड मूल्य बराबरको काम भएको बताइएको छ । त्यसपछि लामो समयदेखि निर्माण ठप्प छ । निर्माण ठप्प हुँदा त्यहाँ कार्यरत मजदुरसमेत मारमा परेका छन् । करिब दुई महिना काम गरेका मजदुरले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । ठेकेदार कम्पनीले पटक–पटक दिन्छु भनेर आश्वासन दिए पनि अहिलेसम्म पारिश्रमिक नपाएको मजदुरले बताएका छन् । झन्डै ८० जनाले पारिश्रमिक नपाएको मजदुर गणेश डाँगीको गुनासो छ । “अस्सी मजदुरले सडक निर्माण सम्बन्धी काम गरेका हुन् ”, उनले भने , “तर कसैले पनि पारिश्रमिक पाएका छैन ।”

भसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्शनले सो ठेक्का लिएको बताइएको छ । गत वर्ष जेठ १ गतेदेखि काम सुरु भएको थियो । त्यसपछि करिब दुई महिनामात्रै काम भएको बताइएको छ । त्यसपछि सडक निर्माणको काम रोकियो । त्यतिबेला रोकिएको काम कात्तिकमा सुरु भयो र मङ्सिरमा पुनः ठप्प भयो । ठप्प रहेको काम अझै पनि सुरु हुनसकेको छैन । पसलमा पनि त्यत्तिकै उधारो छ । त्यस ठाउँमा पसल गर्ने आशाराम चौधरीको पसलबाट सामान लिएको भए पनि त्यो सामानको पैसा अझै नआएको उनले बताउनुभयो । उनको किराना पसलबाट लिएको खाद्यान्न, तरकारीलगायत बापत रु एक लाख २० हजार बाँकी छ । लुम्बिनी प्रदेशसभा सदस्य धमकली चौधरीले सो सडक कालोपत्र गर्नका लागि आफ्नै पहलमा बजेट आएको र अहिले काम ठप्प भएको सुन्दा दुःख लागेको बताउँदै सडक निर्माणको कार्य सुरु गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

“मैले ठेकेदार कम्पनीसँंग पटक–पटक संवाद र छलफल गरिरहेको छु, सडक पूर्वाधार कार्यालयसँग पनि छलफल भइरहेको छ”, उनले भन, “अब तत्काल काम सुरु हुन्छ ।” वैशाख ३ गतेदेखि काम गर्ने भनी ठेकेदारले प्रतिबद्धता जनाएकाले त्यतिबेलादेखि काम सुरु नभए ठेक्कासमेत रद्द गर्न सक्ने चेतावनी दिएको उनले बताए । प्रदेशसभाको रु आठ करोड बजेटमा सडक पूर्वाधार कार्यालय दाङमार्फत उक्त सडक निर्माणको काम अघि बढेको हो । सडक निर्माणको जिम्मा पाउनुभएका भुसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्शनका सञ्चालक आकाश भुसालले निर्माण काम तत्काल सुरु गर्ने बताए । उनले वैशाख ३ गते आफू दाङ आउने त्यसपछि काम सुरु गर्ने उनको भनाइ छ । अहिले निर्माण सामग्री पनि महङ्गो भएकाले पनि निर्माण कार्यमा समस्या आएको उनले बताए ।

“निर्माण कार्यमा धेरै पुरोना पनि होइन, सिक्दै छु, मसँग धेरै पैसा पनि हुँदैन, अहिले निर्माण सामग्रीको मूल्य पनि उत्तिकै बढेकाले समस्या भयो”, उनले भने , “म तत्काल अब काम सुरु गर्छु ।” अझै पनि सम्झौता भएको समय बाँकी रहेकाले समयमै सक्नेसमेत उनले बताए । आउँदो माघमा सक्ने गरी सम्झौता भएको छ । यो भित्रै काम पूरा गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे । सडकमा नाला र पर्खाल निर्माण गरी कालोपत्र गर्ने काम तोकिएको छ । मजदुरले आफ्नो ट्र्याक्टर पल्टाइदिएर क्षति बनाएपछि काममा अवरोध आएकोसमेत उनको भनाइ छ । उनको ट्र्याक्टर अहिले इलाका प्रहरी कार्यालय हेकुलीमा राखिएको छ । उनले भाग्यलक्ष्मी क्रसर उद्योगको जेसिवी पनि प्रयोग गरेका थिए । त्यो जेसिवी पनि उद्योगले लगिसकेको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: