लमजुङमा अलैंची उत्पादन ८५ प्रतिशतले घट्यो

Ad
  • Kalopati

लमजुङ । लमजुङमा यसवर्ष अलैंची उत्पादनमा कमी आएको छ । आवश्यकता अनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो ।

गत वर्षको तुलनामा यो वर्ष करिब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैँची जोन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४०० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष अलैंचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सिमित भएको छ । गत वर्ष अलैंचीको विक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका किसानले यो वर्ष तीन करोड ५० लाख मात्र आम्दानी गर्न सकेको कार्यालयले जनाएको छ ।

यसवर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिँचाइको कमीलगायतका कारण अलैँची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताउनुभयो । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैँची किसानसमेत रहनुभएका संयोजक तामाङले गतवर्ष ४५० केजी अलैँची दाना उत्पादन भएकोमा यो वर्ष २०० केजी मात्र उत्पादन भएको बताए।

त्यस्तै, बेँसीशहर नगरपालिका–१० खाँचेका अलैँची किसान सोमबहादुर तामाङको पनि समस्या तथा उत्पादन उस्तै उस्तै भएको छ । तामाङले गतवर्ष करिब २०० किलो अलैँची दाना उत्पादन गरेको र योवर्ष भने जम्मा ३२ किलो मात्र अलैँची उत्पादन भएको बताए । अलैँची उत्पादन घटेपनि मूल्य भने वृद्धि भएको छ ।

गतवर्ष ४५० किलो अलैँची दाना बिक्रीबाट दुई लाख ७० हजार आम्दानी गर्नुभएको छिनेखोलाका तामाङले यो वर्ष २०० किलो अलैँची दाना बिक्रीबाटै दुई लाख २० हजार आम्दानी गरेका छन् । खाँचेका तामाङले गतवर्ष एक लाख २० हजार आम्दानी गर्नुभएकोमा यो वर्ष ३५ हजार मात्र आम्दानी गरेको बताए ।

गतवर्ष प्रतिकिलो ५०० देखि ६०० मा अलैंचीको दाना बिक्री गरेका किसानले यो वर्ष एक हजार ५० देखि एक हजार १०० सम्म बिक्री गरेका छन् । अलैंची जोन कार्यलयका अनुसार जिल्लामा गत वर्ष एक हजार ६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार भएको थियो भने चार सय ७९ हेक्टर जमिनमा मात्रै अलैंची उत्पादन भएकोे थियो ।

व्यवसायिक खेती हुँदै आएको लेकाली क्षेत्रहरूमा अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमासमेत गिरावट हुँदा किसानहरु निराश बनेका छन् । दशकअघि प्रतिकेजी २ हजार ५ सयसम्म रहेको अलैंचीको मूल्य अहिले प्रतिकिलो आठ सयदेखि नौसयको हाराहारीमा छ ।

जिल्लामा विसं २०४१ बाट अलैँची खेती विस्तार भएदेखि किसान यस पेशाप्रति आकर्षित हुँदै आएको छ । विसंं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले १२ करोड आम्दानी गरेका थिए । यसैगरी विसं २०७५ मा ७५० क्विन्टल अलैँची दानाको बिक्रीबाट पाँच करोड २५ लाख र विसं २०७४ मा ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट चार करोड ४८ लाख आम्दानी गरेको थियो । जिल्लामा हाल एक हजार ५०० हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती हुँदै आए पनि एक हजार २०० हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ ।

उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीशहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको बताइएको छ । जिल्लाका किसानले कुनै बेला अलैँची दाना प्रतिकिलो दुई हजार २०० सम्ममा बिक्री गर्ने गरेका थिए ।

जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाईमा गोलशाही तथा १६ सयदेखि २२ सय मिटर उचाईमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन् ।

उचाइअनुसार फरक फरक समयमा अलैंची पाक्ने हुँदा माथिल्लो क्षेत्रमा लगाइएको अलैंची किसानहरूले असोज महिनामा टिप्ने गर्छन् । अलैंची पाकेपछि टिप्न, छोडाउन र सुकाउन व्यस्त हुन्छन्, उनीहरु । दिनभर टिप्ने, राती छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा अलैंची किसानहरू त्यस समयमा व्यस्त हुने गरेका छन् । व्यवसायिक रूपमा अलैंची खेती गरेका जिल्लाका अधिकांश किसानहरूले सुकाएर मात्रै ग्रेडिङ गरी बिक्री गर्ने गरेका छन् ।

लमजुङको १२ सय मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले व्यवसायिक अलैंची खेती गर्दै आएका छन् । जिल्लामा लगाइएको अलैँचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैँचीका दाना भारतहुँदै विभिन्न देशमा पुग्ने गरेको छ । अलैँची व्यवसायमा जिल्लाका किसानको भविष्य राम्रो रहेको छ ।- रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: