चिराइतोको मूल्य बढेपछि किसान हर्षित

Ad
  • Kalopati

भोजपुर । बहुउपयोगि जडीबुटी चिराइतोको मूल्य बढेपछि यहाँका किसान उत्साहित भएका छन् । चार÷पाँचवर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष वृद्धि भएको हो । पछिल्लो समय मूल्यमा कमी आएपछि धेरै किसानले यसको खेतीलाई छाड्दै गएका थिए । अहिले विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् ।

गत वर्ष आठदेखि दश हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन रु २६ देखि २८ हजारसम्ममा बिक्री भइरहेको किसान एकराज विष्टले जानकारी दिए । उनले,‘‘ केही वर्ष अघिबाट मूल्यमा गिरावट आइरहेको थियो । यसवर्ष मूल्यमा वृद्धि भएको छ । अहिले घरबाट नै प्रतिमन रु २६ देखि २८ हजारसम्ममा बिक्री भइरहेको छ ।’’यस अघिका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिकखेती छाड्दै गएका थिए । तर यस वर्षबाट मूल्य बढेपछि उनीहरु यसको विस्तारमा जुटेको किसान उनको भनाइ छ ।

उनले भने ११ रोपनी बारीमा चिराइतोखेती गरिरहेको छु । मूल्य बर्सेनि वृद्धि हुनको साटो घटेका कारण मनमा उत्साह कम थियो, तर यस वर्ष केही भए पनि मूल्य बढेको छ । म जस्ता किसानमा खुसी थपिएको छ । गतवर्ष मैले प्रतिमन रु ६ हजारमा बिक्री गरेको थिए ।’’ परिवारसँग बसेर आफ्नै ठाउँमा गरिनेखेती भएकोले विदेशमा दुःख गर्नु भन्दा हाल पाउने गरेको मूल्य पनि ठिकै रहेको किसान विष्टको भनाइ छ ।

‘‘निरन्तर खेती गरिरहेकोले एक न एक दिन राम्रो मूल्य पाउनेमा म आशावादी थिए । मेहनत अनुसारको मूल्य त छैन तर अहिले पाएको मूल्य अन्यबालीको तुलनामा ठिकै छ, निरन्तर रुपमा खेती गरिरहेको छु, । यस वर्ष केही राम्रो मूल्य लिन पाएँ ।” उनले भने ।

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने स्थानीय किसान देवबहादुर विष्टले जानकारी दिए । चिराइतो बहुउपयोगी जडीबुटी भएकाले भविष्यमा यसको मूल्य राम्रो हुने उनको भनाइ छ ।

उनले भने ,‘‘ यसको महत्व धेरै छ । पछिल्लो समय हाम्रो ठाउँका धेरै साथीले व्यावसायिकखेती गरिरहेका छन् । सोचे जस्तो मूल्य नपाए पनि विदेशमा गएर दुःख गर्नु भन्दा यो आम्दानी पनि राम्रै छ ।’’ मनको थोरै मूल्य भए पनि अन्यबाली लगाउनु भन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रै रहेको उनीहरु बताउँछन् । सरकारको तर्फबाट सहयोग भएमा यसलाई विस्तार गर्न थप टेवा मिल्ने किसान बताउँछन् ।

स्थानीयवासी पदम बस्नेतले भने ,‘‘हाम्रो ठाउँमा धेरै किसान यसको खेतीमा आवद्ध छौँ । उत्पादन पनि राम्रो छ । यसको बजारीकरणको लागि सरकारको तर्फबाट साथ भए हामीलाई राहत हुने थियो ।’’विशेष गरेर एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने डिभिजन वन कार्यालय भोजपुरको भनाइ छ । कार्यालयले पनि यस्ता ठाउँको छनोट गरेर चिराइतो खेतीको लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यावसायीको भनाइ छ । जिल्लाको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुने गरेको छ ।
टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा छन् ।

जिल्लामा गतवर्ष ३३ हजार ४०० केजी चिराइतो उत्पादन भएको सो कार्यालयले जनाएको छ । खेती विस्तारका लागि जिल्लाको माथिल्लो भेगका किसानलाई प्रोत्साहनमूलक विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कार्यालय प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

उनले भने ,‘‘चिराइतोसँगै अन्य जडीबुटीको खेती विस्तारको लागि कार्यालयको तर्फबाट विभिन्न सहयोग गरिरहेका छौँ । किसानले चिराइतोखेती विस्तारमा रुची देखाउने गरेका छन् ।’’ – रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: