डोटी,अछाम र बाजुरामा औषधि अभाव

Ad
  • Kalopati

डोटी । एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ ।
यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अबरुद्ध सडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
जिल्ला अस्पताल डोटीका चिकित्सक प्रकाश ठकुल्लाले सडक अबरुद्ध भएपछि अस्पतालमा औषधि अभाव भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको फार्मेसीमा औषधि सकिएको छ, निजी मेडिकलमा पनि छैन भन्ने आएको छ, अबको एक÷दुई दिनमै ढुवानी नभए औषधिको समस्या हुने देखिन्छ ।” जिल्लामा रहेका सरकारी अस्पतालसँगै निजी अस्पतालको अवस्था पनि उस्तै रहेको छ । पचास शय्याको सुजङ अस्पताल राजपुरमा पनि दुई दिनका लागि मात्रै औषधि रहेको उक्त अस्पतालका निर्देशक अर्जुन बलायरले जानकारी दिनुभयो । जिल्लामा अस्पताल मात्र नभई यहाँका गाउँपालिकाहरूमा पनि औषधि अभाव रहेको पाइएको छ ।
गाउँपालिकामा सामान्य प्रकारका औषधिहरु सकिएर समस्या उत्पन्न भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालिकामा औषधि सकिने क्रममै थियो, अहिले बाहिरबाट औषधि आयात गर्न सक्ने अवस्था पनि रहेन औषधिको अभाव भएको छ ।” स्वास्थ्यकर्मीका अनुसार यहाँका पहाडी जिल्लाहरुमा बाढीपहिरापछि पानीमा प्रदूषित भएपछि फैलन सक्ने रोगहरू नियन्त्रण तथा दीर्घरोगीले प्रयोग गर्दै आएका औषधिको मुख्यरुपमा अभाव देखिएको छ । –रासस

Ad

RELATED POSTS

YOUR FEEDBACK: