सिएमसीमा एकीकृत बहिरङ्ग सेवा सुरु

Ad
  • Kalopati

कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (सिएमसी) (पुरानो मेडिकल कलेज) मा एकीकृत बहिरङ्ग सेवा शुरु गरिएको छ । बहिरङ्ग सेवामा जाने बिरामीले अब एकै ठाउँबाट सबै सेवा पाउने भएका हुन् ।

कलेजका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार सेवाग्राही आफूले उपचार गर्न चाहेको बहिरङ्ग विभागमा पुगेपछि सबै सेवा त्यहीँबाट पाउने छन् । उनले भने , “सेवाग्राहीले बिमा वा सःशुल्क टिकट काट्ने, विभिन्न परीक्षणको शुल्क तिर्ने, रगतको नमूना दिने, औषधि खरिद गर्नेलगायत सबै सेवा एकै ठाउँबाट पाउँछन् ।” वातानुकूलित कक्षमा पुगेपछि सेवाग्राही अन्यत्र डुलिरहने झन्झटबाट मुक्त भएको प्रधानको भनाइ छ ।

अस्पतालको सबै विभागमा बीचमा खुला ठूलो कक्ष रहेको छ । त्यहाँ बिरामी पालोका लागि बस्ने गर्दछन् । दायाँबायाँ चिकित्सकका कक्ष रहेका छन् । पालो आएपछि परीक्षणका लागि जाने गरी व्यवस्थापन मिलाइएको छ । त्यही कक्षबाट भिडियो एक्स–रे, एमआरआइ, सिटी, एक्स–रे जस्ता सेवा लिनु पर्दा शुल्क त्यही तिरेर पालो आएपछि मात्रै पठाउने व्यवस्था गरिएको उनले जानकारी दिए । बिरामी कुर्ने ठाउँलाई व्यवस्थित बनाइएको छ । निर्देशक प्रधानले भने , “नेपालमा पहिलो पटक हामीले यो व्यवस्थापन गरेका हौँ ।” उनको अनुसार भारतका ठूला अस्पतालमा यो सुविधा रहेको छ । हालसम्म नेपालमा अन्य अस्पतालले गर्न नसकेको काम आफूहरुले गरेको उनको दाबी छ ।

अस्पतालमा ११ विभागका १९ वटा कक्ष तयार गरिएको छ । अस्पतालमा मेडिकलअन्तर्गत मुटु, पेट तथा कलेजो रोग, सर्जरीतर्फ जनरल सर्जरी, पेट तथा कलेजो सर्जरी, युरोलोजी, न्यूरो सर्जरी, कार्डियोथोरासिक तथा भास्कुलरलगायत सेवा रहेका छन् । यसैगरी स्त्री तथा प्रसूति, बाल रोग, नाक–कान–घाँटी, आँखा, छाला तथा यौनरोग, स्नायु तथा मानसिक रोग, दन्त रोग र रेडियोलोजी विभाग रहेका छन् ।

हाल अस्पतालको बहिरङ्ग सेवामा दैनिक ६५० भन्दाबढी सेवाग्राहीले सेवा लिइरहेका छन् । अस्पतालले वार्षिक तीन लाखभन्दा बढीलाई सेवा दिँदै आएको उनको भनाइ छ । २५ वर्षअघि यहाँ स्थापना गरिएको यस मेडिकल कलेजबाट दुई हजार २०० भन्दाबढी चिकित्सक उत्पादन भइसकेका छन् ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: