Skip to content

राष्ट्रिय सभा : जेनजी आन्दोलनपछिको पहिलो बैठक साढे ७ मिनेट बसेर सकियो

Kalopati

2 months ago

काठमाडौं । जेनजी आन्दोलनपछि बसेको राष्ट्रिय सभाको पहिलो बैठक आइतबार साढे ७ मिनेटमै सकिएको छ।

चालू अधिवेशनको पहिलो दिन आज राष्ट्रिय सभामा दुई वटा कार्यसूची प्रस्तुत गरिएका थिए। पहिलो, अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने र दोस्रो, राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।

दुवै कार्यसूचीअनुसार बैठक सञ्चालन भए पनि बहालवाला सांसदको निधनमा शोक प्रस्ताव पारित भएपछि बाँकी कार्यसूचीमा प्रवेश नगर्ने संसदीय अभ्यासअनुसार बैठक साढे ७ मिनेटमै टुंगिएको हो।

बैठक सभाध्यक्ष नारायण दाहालले अर्को बैठक यही माघ ९ गते बस्ने गरी स्थगित गरेका छन्।

आगामी बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ। साथै, सोही बैठकमा विभिन्न अध्यादेश पेश गर्ने तयारी छ।

सरकारले यसबीच मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरिसकेको छ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ र पर्यटन विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पनि सभामा पेस हुने सम्भावित कार्यसूचीमा रहेको छ।

Leave your comment

Related News