रमणीय हिमालका दृश्य अवलोकन गर्ने स्थल दगाम

Ad
  • Kalopati

उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ«ेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ दगाम गाउँको परिचय हो ।

प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले दगाम गाउँको अर्को परिचय दिँदै आएको छ । सरल, निश्चल र सहयोगी गाउँलेहरूमा ‘अतिथि देवो भवः’ भावना प्रष्ट झल्किन्छ । गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले टुटेपानी गाउँ पुग्ने जो–कोहीलाई लठ्ठ बनाउने गरेको छ ।

दगाममा मगर र भुजिकोटमा गुरुङ जातिको बाहुल्यता छ । तेइस घरमध्ये २० घर मगर र तीन घर गुरुङ बस्छन् । यहाँबाट हिमाल, डाँडासँगै शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखरा फेवातालसम्मको दृश्यले यहाँ आउने जो–कोही लोभिने गरेका छन् ।

प्रकृति, संस्कृति र आत्मियतासँग रमाउन आन्तरिक पर्यटक पुग्न थालेपछि पछिल्ला वर्षमा आफूहरूले घरबास (होमस्टे) सञ्चालन गरेको दगाम सामुदायिक होमस्टेका संयोजक नन्दराम थापाले जानकारी दिए  ।

आफूहरूले घरबासलाई दगाम सामुदायिक होमस्टे नामाकरण गरेको जनाउँदै उहाँले विसं २०६५ स्याङ्जाको शिरुबारी गाउँ अवलोकनपछि दगाममा घरबास कार्यक्रम सुरुआत गरेको अनुभव सुनाए  ।

होमस्टे चलाउने भनेर विसं २०६३ देखि नै हामीले योजना बनाएका हौँ”,उनले थपे , “शिरुबारी गएर सिकेपछि झनै सजिलो भयो अनि गाउँले मिलेर नै खोलियो ।” घरबास सञ्चालनमा आएसँगै पाहुनाहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित बनेको उनको  भनाइ छ ।

कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासु होमस्टेका पाहुनाको मुख्य रोजाइमा पर्ने गरेको दगाम सामुदायिक होमस्टेका अध्यक्ष तिला थापाले जानकारी दिए  । “पाहुनालाई हामी भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, मह, सिम्लेलगायतका स्थानीय परिकार नै खुवाउने गर्छौैँ”,उनले भने , “स्थानीय उत्पादन नै दगाम सामुदायिक होमस्टेको पहिचान हो भन्दा पनि हुन्छ ।”

घरबासका लागि एक हजार चार सय रुपैयाँको प्याकेज उपलब्ध छ । यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा पाइने अध्यक्ष थापाले जानकारी दिनुभयो । दगाममा प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता छ ।

दगाम गाउँको प्रत्येक घरमा मौरीका घार यहाँको अर्को विशिष्टता हो । त्यसैकारण पनि यहाँको अर्को आकर्षण मौरी र मह बन्न पुगेको छ । दगाम पुग्नेले त्यहाँको अग्र्यानिक महको स्वाद लिन पाउँछन् । दगामको मह र मौरी देशका विभिन्न ठाउँमा पुगेको छ भने, मह विदेशसम्मै पुग्छ । पाहुना फर्किँदा स्थानीय मह कोसेलीका रूपमा लैजाने गरेको अध्यक्ष थापाले जानकारी दिए  ।

मगर र गुरुङ जातिको संस्कृति यहाँको अर्को आकर्षण रहेको होमस्टे संयोजक नन्दराम थापा बताउछन्  । यहाँ कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने उनले  जानकारी दिए  । यी नृत्यका साथै घाँटुनाच पनि यहाँको अर्को मौलिकता हो । चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ ।

गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगर बताउछन्  । प्रकृति र संस्कृतिले सम्पन्न दगामलाई प्रवद्र्धनकै अभावमा पर्यटन बजारमा पु¥याउन नसकिएको उनको  भनाइ छ ।

गाउँसम्म पुग्ने बाटो असजिलो भएकै कारण दगाम पछि पर्न थालेको स्थानीय लालबहादुर गुरुङले बताए  । दगामसम्म पुग्ने पदमार्ग र सडकको बाटो व्यवस्थित गर्न सके बाह्रैमास पाहुना जान सहज हुने उनको  भनाइ छ ।

सरकारी पक्षबाट सानो–तिनो सहयोग आए पनि त्यो आफूहरूका लागि पर्याप्त नभएको पूर्व वडासदस्य दानबहादुर थापाले गुनासो गरे  । यहाँका घरमा स्तरीय शौचालयको अभाव रहेको जनाउँदै यसतर्फ पनि ध्यान दिनु जरुरी रहेको बताए  ।

पछिल्ला समयमा यहाँको प्रवद्र्धनलाई विभिन्न सङ्घ संस्थाले जोड दिएका छन् । दगामका पर्यटकीय सम्भावनालाई उजागर गर्न हालै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेशले प्रवद्र्धनात्मक कार्यक्रम गरेको थियो । फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थाले प्रकृति र संस्कृतिको बरदान दगाम गाउँ प्रवद्र्धनका पर्खाइमा रहेको बताए  ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: