कालीगण्डकी पुलको कामले छ वर्षपछि गति लियो

Ad
  • Kalopati

जिल्लाको जैमिनी नगरपालिका१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो ।

‘‘लामो समयसम्म काम किन भएन भनेर चिन्ता लागेको थियो”, तर अहिले काम सुरु भएपछि आशा पलाएको छ”, कुश्मीशेराका स्थानीय प्रेमप्रसाद शर्माले भने  ।

यो पुलको निर्माण जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान जोड्ने गरी २०७३ साल असोज ९ गतेदेखि सुरु गरिएको थियो । प्राविधिक कारणले लामो समय काम रोकिएको पुलका संरचना बनाउने काम अहिले धमाधम भइरहेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनियर किरण पौडेलले बताए  ।

रसुवा÷श्री गिता÷फेवा जेभीले सडक डिभिजन कार्यालयसँग पुल निर्माणको सम्झौता गरेर छ वर्षअघि काम थालेका थिए । हाल ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।

आगामी असार मसान्तसम्म म्याद थप भएको छ’’ पौडेलले भन्नुभयो, ‘‘थपिएको समयमा काम सकिनेमा आशावादी छौँ ।’’

बागलुङ र पर्वत दुवैतर्फ पुल जोडिने संरचना बनाउने काम सकिएको छ भने कालीगण्डकी नदीको बीचमा एउटा पिल्लर तयार भएको छ । पुलको पश्चिमतर्फको पिल्लर बनाउनका लागि कालीगण्डकी डाइभर्सनको काम भइरहेको छ । चौँथो पटक म्याद थप भएपछि पुल निर्माणको काम धमाधम भइरहेको निर्माण कम्पनीका इञ्जिनियर अनिल श्रेष्ठले दाबी गरे  ।

‘‘पुल तोकिएको समयमै निर्माण सक्न चाहन्थ्यौंँ तर निर्माण स्थलसम्मको सडककै कारणले काम थाल्नै पाएनौंँ’’ श्रेष्ठले भने , ‘‘सडक साँघुरो हुँदा पूर्वाधार निर्माणका लागि आवश्यक मेसिन ल्याउन पाएनौँ, करिडोर सेनाले फराकिलो बनाएपछि पुलको काम थालिएको हो ।’’

नदीमा पुल निर्माण गर्दा पटक–पटक पानी तर्काउनुपर्ने र वर्षायाममा पानी तर्काउन सम्भव नहुने भएकाले पनि काममा ढिलाइ भएको श्रेष्ठले बताए  ।

नदीभित्रबाट पिल्लर उठाउने काम सकिएपछि पिल्लरमा जोड्ने स्लेप हाल्ने काम सुरु गरिने उनले  जानकारी दिए  । आगामी बर्खाअघि नै नदीभित्र गर्नुपर्ने काम सकिने भएकाले त्यस बाहेकका काममा भने अब अवरोध नआउने उहाँको बुझाइ । रु १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ रुपैयाँमा लागतमा तीस महिनाभित्र पुल निर्माणको सम्झौता भएको थियो ।

बागलुङ–पोखरा राजमार्गको विकल्पको रुपमा पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्न यो पुल आवश्यक मानिएको छ ।

समयमा पुल नबन्दा दुई वर्ष अघिको भदौमा एक साता मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध हुँदा बागलुङवासीले वैकल्पिक मार्गको प्रयोग गर्न पाएका थिएनन् । कालीगण्डकी करिडोरमा जोडिने यो पुलले पर्वत, स्याङ्जा र पोखरालाई समेत करिडोरको पहुँचमा ल्याउने काम गर्ने स्थानीय हरि केसी बताउछन्  ।

गण्डकी प्रदेश मुकाम पोखराबाट स्याङ्जा हुँदै पर्वत र बागलुङको जैमिनी नगरपालिका हुँदै गलकोट जोड्ने रणनीतिक सडकको मुख्य पक्की पुल हो यो । ऐतिहासिक जैमिनीधाम क्षेत्रमा निर्माण भइरहेको पुलले पर्वत र बागलुङका आर्थिक, सामाजिक र धार्मिक क्रियाकलापमा समेत प्रभाव राख्छ । पुल बनेमा मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आउने समस्याका कारण यात्रुले सास्ती खेप्नु नपर्ने स्थानीयको भनाइ छ ।

Ad

RELATED POSTS

YOUR FEEDBACK: