Skip to content

तीस विपन्न परिवारलाई गाउँपालिकाले दियो घर

Kalopati

4 years ago

भोजपुर । आमचोक गाउँपालिकाले ३० विपन्न परिवारलाई घर निर्माण गरिदिएको छ । गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवार पहिचान गरी एक परिवारका लागि रु तीन लाख खर्च गरेर घर बनाइदिएको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए ।

विपन्न परिवार परिवार खोजी तथा पहिचानको लागि समिति गठन गरेर काम गरिएको उनको भनाइ थियो । ‘‘हामीले यहाँका पुस्तौंदेखी पालमुनी तथा गाईगोठमा बसिरहेका अति विपन्न ३० परिवारको घर बनाइदिएका हौँ”, अध्यक्ष राईले भने , राज्यले पनि गाँस, बाँस र कपासलाई नागरिकको मौलिक हकमा राखेको छ । त्यसैअनुरुप हामीले नीति तथा कार्यक्रम नै बनाएर घर बनाइएपछि अहिले उनीहरुलाई प्रत्यक्ष लाभ पुगेको छ ।” गाउँपालिकाले यहाँका अतिविपन्न परिवारलाई स्थानीय सरकार भएको अनुभूति दिलाएको स्थानीय ७३ वर्षीय लाभग्राही वृद्ध कानबहादुर राईले बताए ।

जन्मेदेखि घरविहीन भएर बसेको अवस्थामा गाउँपालिकाले घर निर्माण गरी दिएपछि आफू हर्षित भएको उनको भनाइ थियो । “म ७३ वर्ष पुगे । अहिलेसम्म मेरो जीवन गाई गोठमा बितेको थियो । यो जुनीमा मेरो घर होला भन्ने सोचेको पनि थिइन् तर गाउँपालिकाले घर बनाइदियो । आफ्नो कोही पनि साहरा नभएकाले बृद्धभत्ताबाट आएको पैसाले ज्यान बचाएको छु”, बृद्ध राईले भने “विगतमा कोही नहुँदा र बासको पनि अभावमा कष्टकर जीवन बिताए । घर नहुँदा यो उमेरसम्म आउदा धेरै कष्टपार गरियो । आफ्नै घरमा मर्न पाइएला भन्ने सोचेको पनि थिइन् तर अहिले आफ्नै घरमा बस्न पाउँदा खुसी छु ।”

गाउँपालिकाले घर निर्माण गरी दिएपछि दैनिक जीवनमा परिवर्तन आएको अर्का स्थानीयवासी जिदर शेर्पाले बताउनुभयो । अहिले परिवारसहित गाउँपालिकाले निर्माण गरिदिएको घरमा बस्दै आउएका उनले भने , “गरिबीका कारण जीवनमा एउटा घर बनाउन पनि सकेको थिइन् । अर्काको बनिबुतो गरेर दिन जान्छ । सरकार चाहिने भनेको हामीजस्ता नागरिकलाई त होनी । घर पाउँदा निकै खुसी लागेको छ ।”

खुल्ला आकाश तथा गोठ टहरामा जीवन कटाउँदै आएका कुमार सार्कीले पनि नयाँ घर पाएका छन् । अहिले नयाँ घरमा बस्न थालेका भने “घर नहुँदा दिन बिताउन समस्या थियो । हिउँद तथा वर्षात्को समयमा बालबच्चालाई बचाउन नै गाह्रो हुन्थ्यो । ढिलै भए पनि राज्यले हामीलाई देख्यो । हाम्रो पीडा बुझ्यो । असाध्धै खुसी छु । म जस्ता धेरै दलित परिवारले घर पाएका छौँ ।” गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई लक्षित फुसको छानो हटाउने अभियानसमेत सञ्चालन गर्नाका साथै एक घर एक धाराको अभियान पनि चलाइएको बताइयो । –रासस

Leave your comment

Related News