Skip to content

पोखराको फिस्टेल डेरीद्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

Kalopati

19 hours ago

काठमाडौं । खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रा. लि. द्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य फेला पारेपछि उक्त खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमुना प्रयोगशालामा परीक्षण गर्दा यस्तो कैफियत भेटिएको हो । विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएको उक्त आइसक्रिमको नमुना परीक्षण गर्दा त्यसमा टोटल ब्याक्टेरिया काउन्ट, कोलिफर्म काउन्ट र एन्टेरोब्याक्टेरियासी काउन्ट ब्याक्टेरियाको उपस्थिति पाइएको छ । मानव स्वास्थ्यका लागि हानिकारक मानिने यी ब्याक्टेरियाहरू अत्यधिक मात्रामा भेटिएपछि उक्त उत्पादन उपभोगका लागि अनुपयुक्त ठहर गरिएको हो ।

यससँगै विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) को प्रावधान बमोजिम फिस्टेल डेरीबाट उत्पादित १००० मि.लि. परिमाणको उत्पादन मिति २०८२/०४/१९ -उपभोग्य अवधि १२ महिना- रहेको नोभा ब्रान्डको आइसक्रिम बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ ।

साथै, विभागले महानिर्देशकको निर्देशनअनुसार सोही ऐनको उपदफा (४) बमोजिम उक्त ब्याचको आइसक्रिम बिक्री वितरण नगर्न र नगराउन समेत सम्बन्धित उत्पादक तथा विक्रेताहरूलाई कडा निर्देशन दिएको छ । वरिष्ठ खाद्य अनुसन्धान अधिकृतद्वारा जारी गरिएको यस आदेशको उल्लंघन गरी उक्त हानिकारक खाद्य पदार्थ बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत अवगत गराइएको छ ।

Leave your comment

Related News